छ दिनदेखि बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
सर्लाही | पुस २०, २०८१
सर्लाही: सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ ।
हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता हुनुभएको थियो । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय हरिवनमा निवेदन दर्ता गरेका प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
“परिवारले १६ गते बेपत्ता भनेर निवेदन दर्ता गरेपछि प्रहरीले उहाँको निरन्तर खोजी गरिरहेको थियो”, प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “खोजतलासको क्रममा उहाँले लगाएको जुत्ता फेला परेपछि प्रदेश प्रहरी कार्यलयबाट कुकुर ल्याएर खोजी गरेका थियौँ ।
पुस १८ गते सोही वडाको नहर छेउमा मोटरसाइकल र च्यातिएको फोटोसमेत फेला परेको थियो । त्यसपछि १९ गते घटनास्थलको केही किलोमिटरको दूरीमा पर्स फेला परेपछि खोजी तीव्र पारिएको थियो । आज उखुबारीमा शव गाडेको अवस्थामा फेला परेको हो ।”
उहाँका अनुसार प्रादेशिक अस्पतालका चिकित्सक र जिल्लाका सुरक्षा अधिकारी, सरकारी वकिलसमेतको उपस्थितिमा खाल्डो खनेर शव निकालेको हो । प्रारम्भिक मुचुल्का पछि शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेकोे छ । अनुसन्धान कार्यमा बाधा पुग्ने भन्दै निजहरूको पहिचान भने गोप्य राखिएको प्रहरीले जनाएको छ । प्रसाईंको हत्या पछि गाउँ त्रासमा परेको छ । मृतक प्रसाईंले इँटा भट्टा सञ्चालन गर्दै आउनुभएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

